लोड भएको भरुवा बन्दुक र भरुवा बन्दुकमा प्रयोग हुने खरखजाना सहित मानिस पक्राउ।

विराटनगर । संखुवासभा मकालु गाँउपालिका वडा नं. ५ खोत्ताक स्थित दिल बहादुर तामाङको घर भाडामा लिई बस्ने वर्ष २९को हेमराज विश्वकर्माले अवैध रुपमा हातहतियार बनाउने गरेको भन्ने विशेषसूचनाको आधारमा इलाका प्रहरी कार्यालय हेदाङना, संखुवासभाबाट २६ गते प्रहरी टोली खटी गई निज बस्ने गरेको कोठामा रीतपूर्वक खानतलासी गर्दा तपसिलमा उल्लिखित हातहतियार खरखजाना फेला परी बरामद गरिएको ।

 

फरार रहेका निज हेमराज विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको विशेष टोलीले खोज तलास गर्नेक्रममा माघ २६ गते अन्दाजी १८ः१५ बजेको समयमा जिल्ला संखुवासभा खाँदबारी नगरपालिका वडा नं. १ पाठकधाराबाटपक्राउ गरेको छ । बरामद हातहतियार तथा खरखजानाको विवरणः लोड भएको भरुवा बन्दुक थान–१ (एक), भरुवा बन्दुकको नाल थान–२ (दुई), सोडा जस्तो देखिने सोतो ठोस पदार्थ अं.–२ किलोग्राम, भरुवा बन्दुकमा लाग्ने घोडी जस्तो देखिने फलामको टुक्रा थान–४ (चार), घोडीको साइडमा लाग्ने फलामको टुक्रा थान–१ (एक), भरुवा बन्दुकमा प्रयोग हुने छर्रा जस्तो देखिने सिसाको टुक्रा थान–२५ (पच्चिस), भरुवा बन्दुकमा प्रयोग हुने व्यारिङ जस्तो देखिने पदार्थ थान–११७ (एक सय सत्र) वटा, भरुवा बन्दुकमा प्रयोग हुने केप जस्तो देखिने पदार्थ थान– १ (एक) बट्टा, बारुद जस्तो देखिने कालो पदार्थ अं. १०० (एकसय) ग्राम, सुवाग जस्तो देखिने सेतो पदार्थ अ. २०० (दुईसय) ग्राम वरामद भएको छ । निजलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम सम्मानित संखुवासभा जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप लिई थप अनुसन्धान भइरहेको छ ।