साइलेन्सर बदलेर ठूलो आवाजमा मोटरसाइकल चलाउनेहरु नियन्त्रणमा

 

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सडकमा हुने ध्वनि प्रदूषण नियन्त्रणका लागि विशेष अभियान सुरु गरेको छ ।

यस अभियान अन्तर्गत साइलेन्सर परिमार्जन गरेर ठूलो आवाज निकाल्ने मोटरसाइकलहरू नियन्त्रणमा लिई कारबाही अघि बढाइएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसमक्ष धेरै सेवाग्राहीहरूले परिवर्तित साइलेन्सरबाट निस्कने अत्यधिक आवाजको कारण हुने ध्वनि प्रदूषणको गुनासो गरेपछि यो अभियान सुरु भएको हो ।

प्रजिअ यादवले ट्राफिक प्रहरीलाई निर्देशन दिएपछि अभियान तीव्र रूपमा अघि बढेको छ । ‘यो सेवाग्राहीको गुनासो अन्तर्गत ट्राफिक कार्य अभियानकै रूपमा सञ्चालन गरिने छ,‘ प्रजिअ यादवले भने, ‘जिल्ला ट्राफिक प्रहरीले अब यसलाई दैनिक कार्यकै रूपमा अगाडी बढाउने छ । नियन्त्रणमा लिने, साइलेन्सर झिक्ने र फेर्न लगाउने अनि जरिवाना भराएर मात्रै छोड्ने कार्य हुनेछ ।’
शुक्रबार प्रमुख जिल्ला अधिकारी यादव स्वयं जिल्ला ट्राफिक प्रहरी कार्यालयमा उपस्थित भई नियन्त्रणमा लिइएका मोटरसाइकलहरूको अनुगमन गरेका थिए । यस अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले स्वरूप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई कारबाही प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

प्रहरी प्रमुख लम्सालका अनुसार, अभियान सुरु गरेपछि ७ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको र ती सबैको साइलेन्सर झिकिएको छ । सम्बन्धित सवारी धनीहरूलाई अब मापदण्ड अनुसारको साइलेन्सर राखेर मात्र सवारी चलाउन निर्देशन दिइएको छ । नेपालको सवारी तथा यातायात व्यवस्था ऐन अनुसार, सवारी साधनमा कम्पनीका पाटपुर्जा मापदण्डविपरीत परिवर्तन गरी प्रयोग गर्न पाइँदैन । तर धेरै मोटरसाइकल चालकहरूले यो नियमको उल्लङ्घन गरी साइलेन्सर परिवर्तन गरेर चलाउने गरेको पाइएको छ । ‘यस्ता मोटरसाइकलहरूले ठूलो आवाज निकाल्दा स्थानीय बासिन्दा, विद्यालय, अस्पताल र कार्यालयहरूमा असर पर्दछ,’ प्रहरी निरीक्षक लम्सालले भने, ‘ध्वनि प्रदूषणले मानिसको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने भएकाले यसलाई रोक्नु आवश्यक छ ।’

यस अभियान अन्तर्गत नियन्त्रणमा लिइएका मोटरसाइकल चालकहरूलाई सम्झाइबुझाइ समेत गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले कम्पनीको मापदण्डविपरीत सवारी साधनको स्वरूप परिवर्तन नगर्न सबै सवारी धनीहरूलाई अनुरोध गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले यस अभियानलाई निरन्तरता दिने र धेरै क्षेत्रमा विस्तार गर्ने योजना बनाएको छ । विराटनगरका मुख्य चोक, बजार क्षेत्र र शैक्षिक संस्थाहरू नजिक विशेष निगरानी बढाइने र ट्राफिक प्रहरीको परिचालन गरिने जनाइएको छ ।
प्रहरी निरीक्षक लम्सालका अनुसार, साइलेन्सर परिवर्तन गर्दा मोटरसाइकलको इन्जिनमा समेत नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम बढ्ने हुन्छ । ‘मापदण्डविपरीत साइलेन्सर राख्दा मोटरसाइकल र चालक दुवैलाई खतरा हुन्छ,’ उनले थपे ।
मोरङ प्रहरी प्रमुख एसपी नारयण प्रसाद चिमरियाले पनि यस अभियानलाई समर्थन गर्दै ध्वनि प्रदूषण नियन्त्रणमा सहयोग गर्न सबै नागरिकलाई आह्वान गरेका छन् ।

नियमविपरीत साइलेन्सर परिवर्तन गरेका मोटरसाइकल चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन अनुसार जरिवाना गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पहिलो पटक नियन्त्रणमा लिइएका सवारी धनीहरूलाई सचेत गराइने र पुनः सोही प्रकृतिको कसुर दोहोरिएमा कडा कारबाही गरिने प्रहरी निरीक्षक लम्सालले बताए ।