
बिराटनगर, फागुन १२ गते ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी कार्यालयको समन्वय एवं सहकार्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आयोजित “एक दिवसिय प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठी २०८१ सम्पन्न भएको छ । नेपाल प्रहरीको बार्षिक कार्ययोजना अनुसार फागुन १२ गते भएको समिक्षा गोष्ठीको प्रमुख अतिथि कोशी प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको औपचारिकरुपमा समुद्घाटन गर्नु भएको थियो ।
अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्ने, अनुसन्धानको विद्यमान अवस्थाको समिक्षा गरी सुधारका क्षेत्रहरूको पहिचान गर्नुका साथै नविन विचारहरूको अवलम्बन गरी अनुसन्धानमा देखिने कानूनी तथा अन्य समस्याको समाधानका उपायहरू अवलम्बन गर्ने, साईवर कसुर अनुसन्धान सम्बन्धी नविन कानूनको अवस्था र अभ्यासका बारेमा जानकारी गराई कार्यान्वयनमा एकरूपता कायम गर्न, अनुसन्धानको प्रभावकारीता अभिवृद्धिका लागी अनुसन्धानकर्ताहरू बिच समन्वयको विकास र अपराध अनुसन्धानमा देखिएका समस्या र चुनौतीहरू सम्बोधन गर्नको लागि साझा धारणा विकास गर्ने, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरु वीचको अधिकतम परिचालन एवं अन्तर कार्यालयहरुको अनुसन्धानमा खटिने प्रहरी कर्मचारीहरुविच निरन्तर अन्तर्क्रिया, छलफल र समन्वय भएमा अपराध अनुसन्धान कार्यमा सहजता आउने र उत्पन्न समस्याहरु समाधान गर्न सहज बनाउने उद्देश्यका साथ प्रदेश स्तरिय अपराध अनुसन्धान गोष्ठीको आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि माननीय आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले समाजमा शान्ति सुरक्षा स्थापना गर्न तथा अपराध अनुसन्धान गर्ने कार्यमा नेपाल प्रहरी सवल एवं सक्षम रहेको वताउनु हुँदै नेपाल प्रहरीलाई आगामी दिनमा श्रोत साधन सम्पन्न बनाई अपराध अनुसन्धान कार्यमा थप शसक्त वनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो । साथै वहाँले यस अपराध अनुसन्धान गोष्ठीले प्रहरीले गर्ने अपराध अनुसन्धानलाई सफल बनाउन कोशेढुंगा सावित हुने बताउदै गोष्ठीको पूर्ण सफलताको कामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायतले नेपाल प्रहरी स्थापना काल देखिनै समाजमा शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रण गर्ने कार्यमा नेपालको कानून बमोजिम निष्पक्षरुपमा अनुसन्धान गर्दै आईरहेको र समाजमा शान्ति सुरक्षा कायम राख्न सवैको सहकार्य आवश्यक रहेको बताउदै अपराध अनुसन्धानको क्रममा देखिएका समस्यालाई उजागर गर्न र अपराध अनुसन्धान गर्ने तल्लो इकाईमा बास्तविक अनुसन्धानमा देखिएका समस्याको बारेमा जानकारी लिई समस्या समाधान गर्न गोष्ठीले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो । साथै वहाँले अपराधका प्रकृति र प्रवृत्ति परिवर्तित हुँदै गईरहेको सन्दर्भमा अव प्रहरीले गर्ने अनुसन्धानलाई प्राप्त श्रोत साधनहरूको अधिकतम उपयोग गरी कानुनी परिधि भित्र रही वैज्ञानिक, प्रमाणमुखी र पीडित मैत्री अनुसन्धान गर्न तथा प्रहरीले गर्ने अनुसन्धानलाई सफल बनाउन अनुसन्धान अधिकारीले प्रभावकारी भुमिका निर्वाह गर्न, आफ्नो जिम्मेवारीलाई पहिलो प्राथमिकताका साथ कार्यान्वयन गर्न, घटना स्थलको सुरक्षामा आम नागरिकको भुमिकाको वारेमा नागरिकहरुमा सचेतना अभिबृद्धि गर्न गोष्ठीमा उपस्थित जिल्ला प्रहरी प्रमुख लगायत अनुसन्धान अधिकृतहरुलाई निर्देशन दिनु भएको थियो ।
गोष्ठीमा कार्यक्रमका विशिष्ट अतिथि मोरङ जिल्ला अदालतका माननीय न्यायाधीश श्रीमान् सीता शर्मा अधिकारीले प्रहरीले गर्ने अनुसन्धानले नै न्याय सम्पादन हुने हुँदा अनुसन्धानलाई पारदर्शी, स्वच्छ र तथ्यपरक बनाउन प्रहरीले निष्पक्ष र प्रभावकारी भुमिका निर्वाह गर्नु पर्ने वताउँदै शुभकामना सहितको मन्तव्य राख्नु भएको थियो भने, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले प्रहरीले गर्ने अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन भर्ना छनौट प्रकृया देखिनै बैज्ञानिक पद्दति अनुसार दक्ष प्रहरी जनशक्ति उत्पादन गरी प्रविधिको उच्चतम प्रयोग गरी अपराध अनुसन्धान गर्न आवश्यक रहेको बताउदै गोष्ठीमा भएका महत्वपूर्ण बिषयहरु र विभागिय प्रमुखबाट भएका निर्देशनलाई हृदयगम गरी कार्यान्वयन गरिने प्रतिबद्दता व्यक्त गर्नुका साथै कार्यक्रमका प्रमुख अतिथि लगायत सम्पूर्णमा शुभकामना सहितको धन्यवाद मन्तव्य राख्नु भएको थियो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी बरिष्ठ उपरीक्षक कृष्ण प्रसाद पगेनीले कार्यक्रमको औचित्य सहितको स्वागत मन्तव्य व्यक्त गर्नुका साथै सम्पत्ति शुद्धीकरण अपराध संग सम्बन्धित कानूनी व्यवस्था, अपराध अनुसन्धान सम्बन्धी प्रकृया र अनुसन्धानमा देखिएका चुनौतीहरुको विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । यसै गरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीले समग्र प्रदेशको अपराधको अवस्था, अपराध अनुसन्धानमा प्रदेश प्रहरी कार्यालयको भुमिका र तालुक कार्यालयसँगको अपेक्षा सहितको प्रस्तुतिकरण गर्नु भएको थियो । यसै गरी नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमले अपराध अनुसन्धानको वर्तमान अवस्था र भावि कार्ययोजनाहरुका विषयमा र जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता नवराज पराजुलीले अपराध अनुसन्धानको क्रममा हुने त्रुटीहरु, नविनतम् कानूनी प्रावधानहरुको प्रयोग र सुधारका क्षेत्रहरूका बारेमा आफ्नो भनाई राख्नु भएको थियो ।
यसै गरी नेपाल प्रदेश प्रहरी कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाले अपराध विश्लेषण, अनुगमनबाट देखिएका विषयहरू र सुझावहरुको वारेमा तथा कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्ला प्रहरी कार्यालय प्रमुखहरुले आ–आफ्नो जिल्लाको समग्र बस्तुस्थिति, अनुसन्धानमा गरिएका नविन प्रयोगहरु तथा अनुसन्धानमा देखिएका समस्या र चुनौतीका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । उक्त अपराध अनुसन्धान समिक्षा गोष्ठीमा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले सहित प्रहरी अधिकृतहरु तथा कोशी प्रदेश अन्तरगत रहेका मुद्दा चल्ने इलाका प्रहरी कार्यालयहरुका प्रमुख र जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने इलाका प्रहरी कार्यालयहरुका अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी अधिकृतहरुको समेत सहभागिता रहेको थियो भने कार्यक्रमको पहिलो चरणमा संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।